काठमाडौं । हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
जसको कारण हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका अन्य भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति भने गण्डकी प्रदेशलगायत पहाडी र तराई भू–भागका एक दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।