कृष्ण मन्दिर पूजा गर्न पाटन पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहानै ललितपुरको पाटन दरबार क्षेत्र अवलोकनका साथै कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले त्यसक्रममा सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्राहालयको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई त्यहाँ ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए । साथै, पाटन संग्राहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले जानकारी गराएका थिए ।

पछिल्लो समय निरन्तर अस्वस्थ भएका राष्ट्रपति पौडेल लामो समय पछि शीतल निवास बाहिरको कार्यक्रममा निस्केका हुन् । पौडेलसँगै श्रीमती, छोरा र छोरी पनि साथै गएका थिए ।