विश्वप्रकाश शर्मालाई विष्णु रिमालकाे तीखाे जवाफ: ‘कांग्रेसका महामन्त्री नुन खाएको कुखुराजस्तो’

काठमाडाैं । आफ्नो पार्टीका युवा नेताहरूविरुद्ध कडा टिप्पणी गरेपछि नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति आक्रोश पोखेका छन्।

कांग्रेस महामन्त्री शर्माले शनिबार कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले आयोजना गरेको कार्यक्रममा ‘एमाले युवा नेताहरूको अवस्था कुनामा बसेर दुनामा खाने’ भएको टिप्पणी गरेका थिए ।

उक्त टिप्पणीबारे एमाले उपमहासचिव रिमालले सामाजिक सञ्जालमार्फत तीखो जवाफ फर्काएका हुन् । यस क्रममा रिमालले ‘कांग्रेसका महामन्त्री नुन खाएको कुखुराजस्तो’ भनी कटाक्ष पनि गरेका छन् ।

‘एमालेका ‘ठिटाहरू’ कुनामा बसुन् कि छेउमा दुनामा खाऊन् कि पातमा, किन फिक्री गर्नुहुन्छ’, रिमालले लेखेका छन्, ‘कांग्रेसलाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्नेगरी तगडा बनाउनुस् न भैगयो नि।’

उनले अगाडि लेखेका छन्, ‘एमाले कस्तो बनाउने? हाम्रै जिम्मामा रहन दिनुस्। ‘कांग्रेसका महामन्त्री नुन खाएको कुखुराजस्तो’ भन्ने इमेज हटाउनुस्। एमालेले आफ्ना युवाहरूको पर्फर्मेन्स परीक्षण गर्न यहाँलाई ‘जाँचकी’ राखेको पनि छैन। एमाले जस्तो बन्ला, कृपया प्रतिस्पर्धाको लागि अलि बढी मिहेनत गर्नुहोला ।’