एमालेले प्रतिनिधिसभा अवरोध हटाउँला ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा जारी अवरोध हटाए आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सुन तस्करीमा उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग गर्दै एमाले साउन १० गते देखि संसद अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको बैठक सुचारु गर्न सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा संसदीय समिति गठन गर्दै संसद अवरोध हटाउने समझदारी भएको थियो । तर, एमालेले पछि उच्चस्तरीय छानविन समिति गठनको अडान राखेपछि बैठक सूचना टाँसेर मंगलबार (आज) १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

यदि एमाले संसद सुचारु गर्न सहमत भए संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बनको सूचना बैठकमा दिइनेछ । सभामुख देवराज घिमिरेले रायमाझीको सांसद पद निलम्बन भएको सूचना बैठकलाई गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । वैशाख ३१ गते काठमाडौंबाट पक्राउ परेका रायमाझीको बल्ल सांसद पद निलम्बन गर्न लागिएको हो ।

त्यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यअवधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

तर, प्रमुख प्रतिपक्षी एमाले साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीमा त्यसमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको जनाउँदै आएका छन् ।