सुन प्रकरण : छानविन समिति बनाउँदा अनुसन्धान प्रभावित हुन्छ : प्रवक्ता शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले क्वीन्टल सुन प्रकरण छानविनका लागि समिति बनाउँदा सरकारको अनुसन्धान प्रकृयामा प्रभाव पर्ने तर्क गरेकी छिन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले अनुसन्धान गरिरहेको भन्दै त्यसका लागि समिति गठन गर्नु आवश्यक नभएको तर्क गरिन् ।

उनले भनिन् ‘सरकारले नचाहेको भए सम्भवत यो सुन समातिने थिएन् । यो सुन प्रकरण पनि हुने थिएन् । त्यसैले सरकारले नै छानविन गरिरेहको अवस्थामा थप छानविन समिति बनाउने कुराले सरकारको अनुसन्धान प्रकृयामा प्रभाव पर्छ ।’

उनले सुन प्रकरणको विषयमा अनुसन्धान विभागले गम्भीर अनुसन्धान गरिरहेको बताइन् । ‘सुन प्रकरणको विषय प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले एयरपोर्टबाट ठुलो मात्रामा सुन बरामद गरेको छ । र त्यसको बारेमा अनुसन्धान प्रकृया अगाडी बढीरहेको छ ।’ उनले भनिन् ।