काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।
आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।
यस्तै, अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिइएको छ । यस्तै, सचिव लिलामणि पोखरेललाई मधेश प्रदेशको जिम्मेवारी दिइँदा सचिव देवेन्द्र पौडेलले गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । चन्द्रप्रकाश खनाललाई कोशीको जिम्मेवारी दिइएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशको इन्चार्जमा हितमान शाक्य, कर्णालीको मातृका यादव, सम्पर्कमा गिरिराजमणि पोखरेल र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी डिल्लीराम आचार्यले पाएका छन् । प्रवास इन्चार्जको जिम्मेवारी राम कार्कीले पाएका छन् ।
पार्टी बैठकमा प्रचण्डको सबैभन्दा बढी विरोध गर्ने प्रवास कमिटी इन्चार्ज रहेका लक्ष्मण पन्तको जिम्मेवारी खोसिएको छ । यसअघि माओवादी केन्द्रको कोशी प्रदेशको इन्चार्जको जिम्मेवारीमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल र कर्णालीमा कालीबहादुर मल्ल थिए ।