
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नभएको बताएका छन् ।
नेपाल टेलरिङ व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाइ भ्रष्टाचार नियन्त्रण गर्ने गरी काम गरिहेकाले जनताको पूर्ण समर्थन पाएको बताए । उनले सरकारको स्थायित्वमा कुनै शङ्का नगर्न सबैलाई आग्रह पनि गरे ।
सरकार मुलुकको आर्थिक अवस्था सुधारमा लागेको भन्दै यसको परिणाम छिट्टै देखिने उनको भनाइ थियो ।
उपप्रधानमन्त्री खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको स्पष्ट पारे।
रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको भन्दै टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार रहेको पनि बताए ।
विभिन्न कारणले अर्थतन्त्रमा समस्या देखिएकाले व्यवसायीले समस्या भोग्नु परेपनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा मौद्रिक नीतिले कतिपय समस्याको पहिचान गरेका कारण अर्थतन्त्रमा देखिएका समस्या समाधान हुनेमा उनले विश्वास व्यक्त गरे ।