नेपाल—भारत सम्बन्ध थप उचाइमा पुर्‍याउनेछौँ : राजदुत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालसँगको भारतको सम्बन्धलाई उचाइमा पुर्‍याउने काम गरिरहेको बताएका छन् ।

बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि चलिरहेको र अझै सम्बन्ध बिस्तार गर्दै जान भारत अघि बढिरहेको बताए ।

उनले केही समयअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा पनि भारत र नेपालबीचको सम्बन्ध बढाउन नै बढी जोड दिएको बताए । उनले दुई देश बीचको सम्बन्ध विस्तारले अर्थ व्यवस्था र व्यापार व्यवसायलाई बढाउँदै लैजानुपर्ने बताए ।

उनले भने, ‘हामीबीचको मित्रताको सम्बन्ध सदियौँदेखि चलिरहेको छ । दुई देशबीचका जनताको महत्वपूर्ण सम्बन्ध सांस्कृतिक आधारमा बनेको छ । हाम्रो प्रयास यो सम्बन्धलाई हामी अगाडि झनै राम्रो बनाउनेछौँ ।’

उनले भारत अबको ५ वर्षमा विश्वको तेस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक बन्ने दाबी पनि गरे ।