भृकुटीमण्डपमा तीन दिन नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडाैं । भृकुटीमण्डपमा तीन दिने नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनीकाे आयाेजना गरिएकाे छ ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चर एण्ड इम्पोर्टर्स एस्सोसिएसन अफ नेपालको सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी आयोजना भएकाे छ ।

आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना गरिएकाे आयोजकले जनाएकाे छ ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहेका छन् । विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतिय स्कुटर, मोटरसाइकल, विद्युतिय साइकल तथा रिक्सा, चारजिङ्ग स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहेका छन् ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन् ।