राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले दिए श्री कृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्री कृष्णजन्माष्टमी पर्वको अवसरमा देशवासी र प्रवासी नेपालीलाई सामाजिक सद्भाव,एकता सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।

श्रीकृष्णजन्माष्टमी २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार एक विज्ञप्ती जारी गर्दै श्री कृष्णजन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्याउने अपेक्षा लिएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ, “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्याउने अपेक्षा लिएको छु ।”

त्यस्तै प्रधानमन्त्री दाहालले पनि आफ्नो सामाजिक सञ्जाल टुइटर मार्फत् सामाजिक सद्भाव,एकता र नेपालीको शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।

उनले टुइटरमा लेखेका छन्, ‘‘कृष्णाष्टमी २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’’

भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।