महेन्द्र यादव कुटपिटबारे सरकारले भन्यो– विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन

काठमाडौं । विचार भिन्न भएकै आधारमा कसैलाई सांघातिक आक्रमण गर्न नुहने सरकारले जनाएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले कसैको विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएकी हुन् ।

मन्त्रिपरिषद्को बैठकमा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको प्रसंग उठेको थियो । मन्त्री शर्माले आक्रमण गर्नेलाई पक्राउ गरिएको र विचारको आधारमा सांघातिक आक्रमण गर्न नहुने बताईन ।

उनले भनिन्, ‘अहिले सांघातिक आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ । तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन । यो संविधान, कानून र नियमविपरितकै कामहरु हुन् । त्यसबारे थप अनुसन्धान जारी छ ।’ अनुसन्धान टुंग्याएपछि सरकारले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइन् ।