न्यायाधीश अभावका कारण आज पनि सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ नहुने

काठमाडौं । न्यायाधीश अभावका कारण क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो । यसअघि असोज १ गते पनि न्यायाधीश अभाव कै कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो ।

काठमाडौ जिल्ला अदालतका ३० फाँटमध्ये आज १५ वटा फाँटमा मात्रै इजलास बस्नेछ । न्यायाधीशहरू नभएका कारण १५ वटा फाँटमा इजलास नबस्ने अदालतका सूचना अधिकारी दिपक दाहालले बताए ।

गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरूको इजलासमा नपर्दा सुनुवाइ स्थगित भएको उनले बताए ।

सर्वोच्च अदालतले लामिछानेविरूद्धको बलात्कार मुद्दालाई प्राथमिकता दिएर यथाशिघ्र टुंगो लगाउन भनेपनि काठमाडौं अदालतले मुद्दालाई चाँडो टुंगो लगाउनेगरी अघि बढाउन सकेको छैन ।