संसदलाई जीवन्त बनाउन सांसदहरुको सामुहिक पहल आवश्यक छ, अब ढिला गर्नुहुँदैन : पूर्वसभामुख सापकोटा

काठमाडौं । पूर्व सभामुख अग्नी सापकोटाले संसदको गरिमालाई जोगाउन ढिला नगरी संसदहरुले सामुहिक पहल सुरु गर्नुपर्ने बताएका छन् ।

सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सांसदहरुले सहयोग गर्नुपर्ने बताउँदै सांसदहरुकै सामुहिक पहलबाट संसदीय कार्यलाई गरिमामय बनाउन ढिला गर्न नहुने धारणा व्यक्त गरेका छन् ।

‘म संसदका दुवै सदनका सदस्यहरुलाई विशेष रुपमा अपिल गर्छु कि उहाँहरुले सामुहिक रुपमै संसदको गरिमा र प्रतिष्ठालाई उठाउन सामुहिक पहल गर्नुहोस् । अब ढिलो नगरिकन संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सहयोग गर्दै सबैले सामुहिक छलफल आजैदेखि थाल्नुपर्छ,’ पूर्व सभामुख सापकोटाको भनाइ छ ।

अहिले माओवादी केन्द्रका प्रवक्ताको भूमिकामा रहेका पूर्व सभामुख सापकोटाले संसदीय गतिविधिप्रति आम नागरिकमा छाएको निराशा सांसदहरुले गर्ने राम्रा काम र सामुहिक रुपमा लिने पहलकदमीको थालनी सँगै अन्त्य हुने बताए । सापकोटाले भने, ‘जब सांसदहरुले सामुहिक पहल कदमी लिन थाल्छन् त्यससँगै नागरिकमा आशाका झिल्काहरु देखिन थाल्छन्।’

आफ्नो सभामुखकालमा उनले निर्वाह गरेको भूमिका सभामुखभन्दा पार्टीको निणर्यजस्तो देखिएको र निष्पक्ष नभएको भन्ने प्रश्नमा सापकोटाले आफू सभामुख रहँदा निष्पक्ष, तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको दाबी गरे ।

सापकोटाले भने ‘म यतिसम्म दाबी गर्छु कि मैले आफ्नो कार्यकालमा संवैधानिक नैतिकताको समेत ख्याल गरेर काम गरेको छु । भन्न त मान्छेहरुले के के भन्लान तर मैले जे गरेको छु आफ्नै निर्णय गरेको छु । म सभामुखको निष्पक्ष, तटष्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको छु र आफ्नो सभामुखको कार्यकालप्रति गर्व गर्छु ।’