सुदन किराँतीकाे राजीनामा माग गर्दै प्रदर्शन

काठमाडाैं । धर्मको बिषयमा विवादास्पद अभिव्यक्ति दिएका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै बिभिन्न धार्मिक संघसंगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

मन्त्री किराँतीको अभिव्यक्तिले हिन्दुधर्मालम्वीहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरुले बिहीबार काठमाडौंको गौशाला क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

मन्त्री किराँतीको वक्तव्य गैरजिम्मेवार र असंवैधिानक भएको उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्रीलाई बरखास्त गर, विभेदकारी मन्त्रीलाई कारवाही गर, धर्मनिरपेक्षता खारेज गर लगाएतका नारा लगाएका थिए ।

प्रदर्शनमा पुगेका राप्रपा सांसद धवलशमशेर राणाले मन्त्रीको अभिव्यक्ति १ करोड ५० लाख हिन्दूहरुकाे भावनामाथिको प्रहार भएको आरोप लगाए । धर्मनिरपेक्ष राष्ट्र बनाएर प्रलोभनमा नेपालीहरुको धर्म परिवर्तन गराइरहेको भन्दै घोर आपत्ती रहेको उनले बताए । उनले अब हिन्दुराष्ट्र, राजा सहित प्रजातन्त्रको लागि बृहत आन्दोलन गर्ने धारणा राखे ।

क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको अभिव्यक्ति दिएपछि पर्यटनमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरिएको हो ।