नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको असर अहिलेसम्म नेपालमा फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको केरला र नयाँदिल्लीमा नयाँ भेरियन्टबाट प्रभावित केही व्यक्ति फेला परेको समाचार प्रकाशमा आईरहेको तर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचेत रहेको प्रवक्ताले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले अहिले भारतमा फेला परेका व्यक्तिमा पनि घातक असर नपाईएको र नेपालमा कुनै असर भित्रिनसकेको बताए ।

प्रवक्ता बुढाथोकीका अनुसार, यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरियन्ट भित्रि नै हाले पनि तत्काल गम्भीर असर पर्ने छैन । तर मन्त्रालयले तालिम प्राप्त जनशक्ति, स्वास्थ्य साधन र सीमानाकामा हुने आवतजावतको दैनिक विवरण संकलन गरिरहेको छ।

‘१६ वटा सीमानाकामा रहेका हेल्थ डेस्कबाट दैनिक आवतजावत गर्ने मानिसहरुमा कुनै असर भएनभएको विवरण संकलन भैरहेको छ, प्रवक्ता बुढाथोकीले भने, ‘कोभिडका अघिल्ला महामारीमा काम गरेका तालिमप्राप्त जनशक्तिको अपडेट राखेका छौं, स्वास्थ्य सामग्री तयारी अवस्थामा छ र अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले पनि नियमित विवरण राख्ने गरेको छ।’

अन्तर्राष्ट्रिय विमानस्थल र सीमानाकामा श्वासप्रश्वासको समस्या भएका व्यक्ति फेला परे उनीहरुको स्वास्थ्य परीक्षण गर्ने र स्याम्पल परीक्षण गर्दा कोभिडको असर पुष्टि भएमा निगरानीमा राखेर उपचार गर्ने प्रवन्ध पनि भएको बुढाथोकीले जानकारी दिए ।

यतिबेला मन्त्रालयले कोभिडको नयाँ भेरियन्ट भित्रि नै हाले पनि तत्काल परिचालन हुनेगरी सबै तयारी अवस्थामा प्रवन्ध गरेको बुढाथोकीले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१