भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनेछ : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन् । सुनसरीस्थित इनरुवा सब-स्टेशन शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी महत्वपूर्ण अन्तरसरकारी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम छिट्टै काठमाडौंमा हुने दाहालले बताए । काठमाडौमा हुने उक्त कार्यक्रमका लागि उच्च भारतीय अधिकारीहरू काठमाडौं आउने तयारी भइरहेको पनि दाहालले जानकारी गराए ।

उनले भने ‘गत जेठमा भएको मेरो भारत भ्रमणले केही विद्युत् व्यापारका लागि महत्वपूर्ण आधारहरू तयार पारेको छ। दीर्घकालीन विद्युत् व्यापारमा भएको सहमतिलाई मूर्त रुप दिन, नेपालमा भएको अपार जलविद्युत्को सम्भावनालाई व्यवहारमा उतार्न छिट्टै भारतसँग काठमाडौंमा विशेष घोषणा हुनेछ ।’

दाहालले यस वर्षको वर्षायाममा मात्रै नेपालमा उपभोग गरेर उब्रिएको बिजुली बेचेर १५ अर्ब रुपैयाँ आम्दानी भएको पनि बताए ।