काठमाडौं । भारतीय विदेशमन्त्री डा.एस जयशंकरको नेपाल भ्रमणको क्रममा १३२ केभीएका तीन वटा प्रसारण लाइनको उद्घाटन हुने तय भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र जयशंकरले संयुक्त रूपमा भोलि उद्घाटन गर्नेछन् ।
भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन हुन लागेको हो ।
नेपाल भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जा सम्झौता गर्न भारतको ऊर्जा मन्त्रालयको टोली काठमाडौं आई पुगेको छ । दुवै देशका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री जयशंकरसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्ची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापनलगायतका अधिकारीहरू पनि आउनेछन् ।
भारतीय वायुसेनाको विशेष विमानमार्फत उनीहरू पुस १९ गते बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा आउन लागेका उनका भारतीय समकक्षी जयशंकरले नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागीसँगै मन्त्री साउदसँगसहित उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तय भएको छ ।
परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाट हुनेछ ।