लाइन काटिएका उद्योगमा जोडियो बिजुली

काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ ।

शुक्रबार मध्यरातसम्म सबै उद्योगमा लाइन जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएकाे हाे ।

डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरि चलाएको बिजुलीका प्रिमियम बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत पुस ९ गतेबाट उद्योगमा लाइन काट्न सुरु गरेको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरेको थियो ।

बैठकले उद्योगमा लाइन जोड्ने निर्णय पनि गरेको थियो ।

प्राधिकरणको रेकर्डअनुसार उद्योगहरूबाट २०७२ माघअघिको ९७ करोड रूपैयाँ प्रिमियम महसुल लिन बाँकी छ ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब रूपैयाँ र त्यसयताको ८ अर्ब रूपैयाँ प्रिमियम शुल्क लिन बाँकी छ ।

यसबाहेक २५ प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याजसमेत गर्दा अहिले ६१ वटा उद्योगले २२ अर्ब २४ करोड रूपैयाँ भुक्तानी दिन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।