पत्रकार भट्टराईले ल्याए झापा विद्रोहका ‘२८ साल’

काठमाडौं । पत्रकार कुमार भट्टराईले झापा विद्रोहका विषयमा लेखेको पुस्तक ‘२८ साल’ सार्वजनिक भएको छ ।काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा बुधबार आयोजित समारोहमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, दुर्गा अधिकारी र लेखक भट्टराई लगायतले कृति सार्वजनिक गरेका हुन् ।

झापा विद्रोहमा संलग्न पात्र र जीवितसँगका संवादसँगै अनुभव लेखिएको चार सय ४० पृष्ठको उक्त पुस्तक ऐतिहासिक रहेको वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले बताए ।

उनले भने, ‘नेपालको इतिहासमा झापा विद्रोह एउटा महत्वपूर्ण घटना हो । यही विषयमा विद्रोहमा संलग्न पात्रहरुसहितको विषयलाई समेटेर यो पुस्तक लेखिएको छ । यस विद्रोहका कमान्डर केपी शर्मा ओली थिए । उनले समेत यो विषय स्विकारिसकेका छन् । यो कम्युनिष्ट आन्दोलन समयको माग थियो, अन्यथा लिनु हुँदैन ।’

झापा आन्दोलनमा संलग्न पात्रहरु अहिले पनि जीवितै रहेको भन्दै उनले आफूहरूले देखे भोगेका अनुभवहरूलाई कृतिका रुपमा प्रकाशन गरिदिनु लोकतन्त्रको सम्मान भएको उनको भनाइ थियो ।

विस. २०२८ सालमा झापामा कम्युनिष्टहरुले ‘वर्गशत्रु सफाया’ को अभियान चलाएका थिए । तत्कालिन सरकारले दमन गरेको थियो । पक्राउ गरेर केहीको हत्या गरिएको थियो भने केहीलाई पक्राउ गरेर थुनामा राखिएको थियो ।