पर्यटन बोर्डको सदस्य सचिवमा मिलन देवकोटा

काठमाडाैं । नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्य सचिवको जिम्मेवारी मिलन देवकोटालाई दिइएको छ ।

हाल बोर्डकी सदस्य रहेकी उनलाई यही बिहीबार बसेको बोर्डको ३६२ औँ बैठकले बढीमा तीन महिनाका लागि सदस्य सचिवको जिम्मेवारी तोकेको हो ।

पर्यटन बोर्डमा हाल कार्यकारी प्रमुख पद रिक्त रहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले उक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाइसकेको छैन ।

यस्तोमा नेपाल  पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा ९४० अनुसार कार्यकारी प्रमुखको नियुक्ति नभएसम्म (बढीमा तीन महिना) का लागि देवकोटालाई कार्यकारी समितिको सदस्य-सचिवका रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको हो ।

उनी २०७८ चैतमा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको कार्यकारी सदस्यमा नियुक्त भएकी थिइन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट देवकोटालाई बोर्डको कार्यकारी सदस्यमा नियुक्त गरेको थियो ।

तीन वर्षको कार्यअवधि रहने बोर्ड सदस्य देवकोटालाई तत्कालका लागि सदस्य सचिवको पनि जिम्मेवारी तोकिएको हो ।