आज दुर्गा प्रसाईंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन, ७ रुटबाट जुलुस

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले मंगलबार (फागुन १) वार्षिकोत्सव मनाउँदै छ।

काठमाडौँको टुँडीखेलमा कार्यक्रम गर्न चाहेका प्रसाईँलाई प्रशासनले त्यो ठाउँ त उपलब्ध गराएन। तर, नजिकैको भृकुटीमण्डममा कार्यक्रम गर्न अनुमति दिएको छ।

गत मंसिर ७ को कार्यक्रममा काठमाडौँको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईंले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन्।

कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन्। यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो। अहिलेको कार्यक्रम सभामा केन्द्रित छ।

सभामा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य पनि दिनेछन्। मुख्य वक्ताका रूपमा भने अभियानका संयोजक दुर्गा प्रसाईं नै रहनेछन्।

७ वटा रुट
अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ। ती सातवटै रुटका लागि नेतृत्व र व्यवस्थापन गर्न अलगअलग टोली खटाइएको छ।

एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ।

त्यस्तै अन्य टोलीहरू क्रमशः चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ।