काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईँको कार्यक्रम भृकुटीमण्डपमा हुने भएको छ । आज (फागुन १ गते) टुँडिखेलमा कार्यक्रम गर्ने भनिएपनि अनुमति नपाएपछि भृकुटीमण्डपमा हुने भएको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले भुकुटी मण्डपको खाली ठाउँमा विरोध प्रदर्शन गर्न प्रसाईलाई अनुमति प्रदान गरेको छ । प्रसाईंले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।
उनले गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले बालेको दियो टुँडीखेलमा पुनः प्रज्वलन गर्ने भन्दै पूर्वराजालाई समेत टुँडीखेल आउन निम्तो पठाएका थिए । तर पूर्वराजा ज्ञानेन्द्र शाह भने कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रसाईले कार्यक्रम गर्नुअघि नै पूर्वराजा शाह आइतबार चितवनतिर लागेका छन् ।