काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ।
त्रिवि क्रिकेट मैदानमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
लोफ्टी इटनले १०१ रन बनाए । त्यसक्रममा उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडे।
मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए ।