शिवरात्रीको चहपहल बढ्यो, यसरी मनाइन्छ शिवरात्री

काठमाडौं । हिन्दुधर्मालम्बीको महान चाडपर्वमध्ये शिवरात्री पनि एक हो । शिवरात्री फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव शिवको पुजाआजा गरी मनाइन्छ । फागुन २५ गते शुक्रवार पर्न गएको शिवरात्री पर्वको पशुपतिनाथ मन्दिर लगायत देशका शिवालयहरुमा निकै चहलपहल बढेको छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला हेर्न नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्ने गर्दछ । शिवरात्रीको पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा फुलमालाले सिंगारिदै छ । यस्तै पशुपतिनाथ मन्दिरमा शिवरात्री निकै नै उत्साहका साथ प्रत्येक वर्ष मनाइन्छ ।

शिवरात्री पर्व कहिले मनाइन्छ ?

फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव शिवको पूजा–आरधना गरी महाशिवरात्री पर्व मनाइन्छ । जुन यस वर्ष फागुन २५ गते शुक्रवार परेको छ । हिन्दु धर्मावलम्बीहरू शिवरात्रीको दिन बिहान सवेरैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्ने चलन छ ।

शिवरात्रीमा कसरी पुजाआजा गर्न सकिन्छ ?

शिवरात्री व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ। भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी आज व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पुजाआजा गरि मनाइन्छ ।

यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेलपत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरणमा सहभागी हुने प्रचलन छ । शिव लिङ्गमा बेलपत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ ।
शिवरात्रीको दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ । यदि आफु बस्ने नजीकै शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने प्रचलन छ । राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ । व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ ।

शिवरात्री पर्वप्रति जनआस्था के छ ?

वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा मनाइने परम्परागत प्रचलन छ । यहाँ रात्रि शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ भन्ने मान्यता छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ ।

महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिनका रुपमा मानिन्छ। यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो । यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ भन्ने परम्परागत धारणा रहिआएको छ । हिंसक प्रवृत्तिमा परिवर्तन आउने, निरीह जीवहरू प्रति दयाभाव उब्जिने धर्मग्रन्थहरुका उल्लेख गरिएको छ । । शिवलिङ्गमा दूधसहित भांग चढाउने भक्तमाथि शिवको विशेष कृपा रहने र मनोकामना पूरा हुने विश्वास गरिन्छ ।