नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

सोमबार तीन जनाले विना विभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् । योसहित मन्त्रीमण्डल २० सदस्यीय बनेको छ ।

सत्ता साझेदार दलमा भएको सहमति अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी मन्त्री बनेका छन् ।

यस्तै, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जलस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका छन् ।

यस्तै, रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बनेका छन् ।

नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकास मन्त्री बनेका छन् ।

वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुङ्गिएका छैनन् ।