काठमाडौं । ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ ।
वेष्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।
यस्तै, दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए ।
खेलको अन्त्यमा गुल्सन झाले दुई चौका हिर्काउँदै टोलीलाई जित दिलाए । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्डे र ओबेड म्याकोयले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए ।
शृङ्खलाको दोस्रो खेल अब आइतबार हुनेछ । तेस्रो खेल मे १ चाैथाे खेल मे २ र पाँचौँ खेल मे ४ तारिखमा हुनेछ ।