काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधन विषयमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरेको छ ।
आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले मन्त्री गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।
सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए ।
यस्तै बैठकमा मुख्य सचिव डा। बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित थिए । सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै आइरहेका थिए।
यसअघि यही असार ३ गते सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कर्मचारीहरुले राखेको माग सम्बोधन गर्न पहल गर्ने सहमति भएको थियो।
संसद सचिवालयका कर्मचारीहरु विभिन्न ११ बुँदे मागसहित जेठ अन्तिमदेखि आन्दोलनरत छन् ।