देउवा–ओली लक्षित बालेनको टिप्पणी  : ‘काले–काले मिलेर खाउँ भाले’

काठमाडौं । राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेस र एमालेबीचको समझदारीप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले असन्तुष्ट व्यक्त गरेका छन् ।

मंगलवार सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगै बसेर चिया पिइरहेको तस्विर पोस्ट गर्दै उनले कटाक्षयुक्त टिप्पणी गरेका छन् ।

उक्त टिप्पणीमा उनले लेखेका छन्,‘यो समय गिरिबन्धु चियाको हो । काले–काले मिलेर खाउँ भाले ।’

सोही पोस्टमा साहले नारायण गाउँलेले लेखेको एउटा टिप्पणीलाई कमेन्टमा सेयर गरेका छन् ।

उक्त टिप्पणी यस्तो छ :

गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ’विधेयक’ संसदबाट पास भएछ !

नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !
अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।

सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ‘टाप’ले आँखा छोपियो ।

देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ‘प्लान्ट’ भन्दा जग्गा किन्न या भाड़ामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ?

नेपालको राजनीति !