मोफसलको पत्रकारितालाई सम्बोधन गर्न आवश्यक

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले उपत्यका केन्द्रित नभई मोफसलको पत्रकारितालाई सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार सञ्चारिका समूहले आयोजना गरेको ‘सामाजिक सञ्जालमा हुने लैंगिक हिंसा न्यूनीकरण सम्बन्धि कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पत्रकार पलयानका लागि राज्य र सम्बन्धित निकाय गम्भीर हुन जरुरी रहेको बताए ।

‘हामी महिला वा पुरुष भएपनि राम्रो पत्रकार बन्नुपर्यो । पत्रकारितामा अव्वल हुनसक्यौं भने पेसाप्रति आकर्षण बढ्छ र बलियो पनि हुन्छ । पत्रकातिामा राम्ररी अगाडि बढ्न सक्यौं भने पत्रकार पलायन हुनपर्दैन भन्नेमा समिक्षा हुन आवश्यक छ । राज्यको यसमा गम्भीर ध्यान दिनुपर्छ । राज्यले पनि उपत्यका विशेष मात्र नभइ मोसफलको पत्रकारितालाई सम्बोधन गर्न जरुरी छ ।’

दुर्गममा पत्रकारिता गर्न प्रविधि मात्र चुनौति नभएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले समन्वयको अभाव रहेको उल्लेख गरे ।दश वर्षभन्दा पहिलेको जस्तो पत्रकारितामा आकर्षण नभएको भन्दै यसको कारणबारे समिक्षा गर्न जरुरी रहेको बताए ।

‘मैले कतिपय जिल्लामा पत्रकार महिला कममात्र देख्ने गरेको छु । राजधानीका मात्र कुरा गर्न छाडौं । दुर्गममा के पत्रकारिता गर्न प्रविधिको मात्र चुनौति होला त ? त्यहाँ राज्यले सम्बोधन गर्नुपर्ने कुराहरु पनि छन । हामीले समन्वय गर्नुपर्ने विषयहरु पनि होलान् ।

सबभन्दा ठुलो कुरा त पत्रकारिता बुझाउन सक्यौं कि सकेनौं ? आजभन्दा १० वर्ष पहिलेको पत्रकारिताको आकर्षणलाई निरन्तरता दिन सकेनौं । आज समिक्षा गर्ने बेला भएको,’ उनको भनाइ छ ।