रास्वपाले भन्योः गिरीबन्धु, शरणार्थी काण्ड जस्तोमा अरबौं घोटला गर्नेले नयाँ दलमाथि आक्रमण गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले भत्र्सना गरेको छ ।

शुक्रबार लामिछाने पक्राउ परेको केहिबेरमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेस विज्ञप्तिमार्फत सरकारले पूर्वाग्रहमा पक्राउ गरेको भन्दै भत्र्सना गरेको हो । विज्ञप्तिमा भनिएको छ ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ । तथापि रास्वपा विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार छ । तर, कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन ।’

विनाकारण सभापति रवि लामिछानेलाई पक्राउ गरेर अन्य ८७ अर्ब अपचलन गर्ने सहकारीका ठगहरुलाई उन्मुक्ति दिन खोजिएको रास्वपाले उल्लेख गरेको छ ।

गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तौ अरबौंको घोटालामा सत्तापक्षबीच बचाउने आपसी सहमति भएबमोजिम नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरिएको आरोप लगाएको छ । ‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाईडवडी जस्तो अरबौंको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन् । हामी डराएका छैनौं, तर्सिएका हैनौं । अब परिवर्तनको लडाई थप बुलन्द भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।