
काठमाडाैं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीले बिहीबार थप सात दिन म्याद थप गरेको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने गएकाे शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो ।
शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।