काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १८३ रनकाे लक्ष्य दिएको छ ।
कप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानी इनिङ्सको मद्दतमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको हो ।
कप्तान ऐरीले २४ बलमा सर्वाधिक ५७ रन बनाए । यस्तै, ब्राण्डन मुल्लेनले २६ बलमा ३६ रन बनाए ।
२० बल खेलेका विनोद भण्डारी २३ रन बनाएर आउट भए ।
यसैगरी, इशान पाण्डेले १६ बलमा २१, सैफ जैबले १५ बलमा १४, स्कट कुग्गेलैज्नले १० रन बनाउँदा अमित श्रेष्ठ १ रनमा आउट भए ।
विराटनगरका लागि अमित खरेलले ३ विकेट लिए । उनले चार ओभरमा २६ रन दिएर ३ विकेट लिएका हुन् ।
क्रिश सोल, इश्मत आलम र बसिर अहमतले समान एक/एक विकेट लिए । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स्सँग पराजित भएको थियो ।
मगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।