काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहेकाे जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले बुधबार स्तब्ध बनाएकाे छ ।
पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित भयो ।
जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २-२ विकेट लिए । सैफ जैब र नरेन साउदले समान १ विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिदलो बलमै विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यसैगरी सैफ जैबले २१, इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलेनले ११ रन बनाए । एनपीएलमा डेब्यु गर्दै वान डाउनमा ब्याटिङ गरेका हर्मित सिंह १ रनमा आउट भए ।
कप्तान दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन् । आरिफ शेख ६, स्कट कुगेलेइन ७, नरेन साउद ३ रनमा आउट भए । नरेश बुढाएर ९ रनमा अविजित रहे ।
जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २-२ विकेट लिए ।