
दोलखा । दोलखाको जिरी नगरपालिकामा अवस्थित च्योर्दोङलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको छ । समुद्र सतहदेखि ३,७०० मिटरको उचाइमा अवस्थित च्योर्दोङलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरिएको छ । जिरीका स्थानीय जन्मेहुर्केका युवा उद्यमी लिलाराम खड्काको नेतृत्वमा यो अभियान सुरु गरिएको हो ।
‘जाऔं है च्योर्दोङ’ अभियान अन्तर्गत मंसिर २४ देखि २८ गतेसम्म च्योर्दोङको पदयात्रा सम्पन्न भयो । अभियानमा पत्रकार, पर्यटन व्यवसायी, समाजसेवी, र साहसिक खेलका प्रतिनिधिहरू,स्थानिय युवाहरुको सहभागी भएका थिए । अभियानको क्रममा ३६ जनाको जम्बो टोलीले च्योर्दोङ डाँडामा पदयात्रा गरेर साँझ त्यहीं क्याम्पिङ गरेका थिए । नेपाल साइकल संघका महासचिव रञ्जन राजभण्डारी नेतृत्वको ५ सदस्यीय टोलीले च्योर्दोङ र जिरी क्षेत्रमा साइकल पर्यटनको सम्भावनाबारे अध्ययन गरेका थिए ।
यस अभियानका लागि लेखक, पत्रकार, फोटोग्राफर, साइक्लिस्ट, र स्थानीय व्यवसायीहरू सम्मिलित ३६ जनाको समूहले मंगलबार जिरीबाट च्योर्दोङ डाँडासम्म यात्रा गरेको छ ।
च्योर्दोङबाट यहाँबाट धौलागिरी , अन्नपूर्ण, माछापुछ्रे, मनास्लु, लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि हिमालसम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ । डाँडाबाट सूर्योदय र सूर्यास्तका अनुपम दृश्यावलोकन गर्न सकिन्छ ।
च्योर्दुङ हिन्दू र बौद्धमार्गीहरूको साझा तीर्थस्थल हो, जहाँ धार्मिक सहअस्तित्वको अनुपम उदाहरण देख्न सकिन्छ । यो स्थान दुवै सम्प्रदायका लागि पवित्र मानिन्छ, र हरेकले आ–आफ्ना परम्परा र विश्वासअनुसार पूजा गर्ने प्रचलन छ ।
हिन्दू धर्मावलम्बीहरूले च्योर्दुङमा महादेवको विशेष पूजा गर्ने चलन छ । यो स्थानमा महादेवको पूजा गर्नाले रोग–व्याध नलाग्ने र वन्यजन्तुले चौपायालाई दुःख नदिने विश्वास गरिन्छ ।
च्योर्दोङमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै अभियान संयोजक लिलाराम खड्काले भने, “हामीले च्योर्दोङमा संसारभरका पर्यटकको ध्यानाकर्षण गराउन ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरेका हौं। साथै, आवश्यक पूर्वाधार विकासका लागि स्थानीय सरकार र सरोकारवालालाई सक्रिय बनाउने प्रयास गर्दैछौं ।”
नेपाल साईकल संघका वरिष्ठ उपाध्यक्ष सुदिप पौडेलले च्योर्दोङलाई साहसिक पर्यटन र खेलकुदसँग जोडेर अघि बढाउन सके यसलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिने बताए । “साहसिक पर्यटनले स्थानीय आम्दानी बढाउने र विदेशी पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ,” उनले भने ।
डोल्पाली शिक्षासेवी सेम्दुक लामाले च्योर्दोङको सुन्दरता बयान गर्दै भने, “डोल्पाभन्दा फरक अनुभव भयो । अन्नपूर्णदेखि नुम्बुरसम्मका हिमालको शृंखलाले मन लोभ्यायो । काठमाडौं नजिकै रहेको यो ठाउँ प्रचार र पूर्वाधार विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ ।”
च्योर्दोङ भ्रमण टोलीमा बरिष्ठ पत्रकार चन्द्रशेखर कार्की, समाजसेवी भक्तशंकर श्रेष्ठ, पर्यटनकर्मी शिक्षासेवी सेम्दुक लामा, र सगरमाथा आरोही लालबहादुर जिरेल लगायत सहभागी थिए । साथै, साइक्लिस्टहरू रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, सिर्जना अधिकारी, र चन्द्रा खड्काले पनि साहसिक पर्यटनको सम्भावना पहिचान गर्न योगदान दिए । साइक्लिस्ट टोलीले डाँडामा साइक्लिङ गर्दै यसको सम्भावना र चुनौतीहरूको अध्ययन गरेका थिए ।