विप्लव भन्छन् : एक पटक देशको नेतृत्व गर्ने इच्छा छ

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक पटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन् ।

काठमाडौंमा आयोजित नेकपाको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार अहिलेको पार्टी एकता शुरु भएको बताए ।

उनले भने, ‘माओवादीले पनि ध्रुवीकरणको कुरा गरिरहेको छ । तीन पटक सरकारको नेतृत्व गरिरहेकै छ । थुप्रै अवसरहरु पायो, तर के दियो भन्ने जनताको मनमा छ । हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं । एक चोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौं ।’

महासचिव विप्लवले आफूहरुको एकता कुनै दरबार, टी–इस्टेट र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउन नभएको पनि बताए ।

कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता जितेन्द्र दाहाललाई विप्लवले आफ्नो पार्टीमा स्वागत गरेका थिए । त्यसलाई उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको सुरुवातको भएकाे जिकीर गरे ।

कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग ध्रुवीकरण गर्ने निर्णय गरेको जानकारीसहित आजको कार्यक्रम त्यसकाे सुरुवात भएको उनले बताए ।