रवि लामिछाने आइतबार काठमाडाैं जिल्ला अदालतमा हाजिर हुने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्कीबाट रिहा भएसँगै काठमाडाैं जिल्ला अदालतमा हाजिर हुँदैछन् । उनी आइतबार काठमाडाैं जिल्ला अदालतमा हाजिर हुनेछन् ।

बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

बिहीबार साँझ रिहा भएका लामिछाने काठमाडौं फर्किएका छैनन् ।

लामिछाने विरुद्ध चितवन, बुटवल र पर्सामा पनि सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान भइरहेको छ । ती ३ वटा जिल्लाको मुद्दा अदालतमा दर्ता भएको छैन ।

चितवनमा सहारा बचत, पर्सामा सानो पाइला र बुटवलमा सुप्रिम सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछनेसँग अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् ।