प्रदेश सरकारको औचित्यका बारेमा प्रश्न उठ्न थाल्यो : डा.डिला संग्रौला

काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पार्टीको पेसागत तथा वुद्धिजीवी विभाग प्रमुख डा.डिला सङ्ग्रौलाले वर्तमान संविधान संशोधन गर्न आवश्यक भएको बताएकी छन् ।

शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजना गरिने ‘संविधान संशोधन आवश्यकता र चुनौती’ विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कर्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता डा.सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीबाट कुनै पार्टीको बहुमत नआउने र जनताको चाहना पूरा गर्न सक्ने अवस्था नभएकै कारण संविधान संशोधनमार्फत निर्वाचन प्रणाली लगायतका समस्या समाधान गर्नेतर्फ कांग्रेस अगाडि बढ्ने बताइन् ।

गणतन्त्रपछि पनि नेपाली जनताका चाहना पूरा गर्न नसकिएको स्वीकार गर्दै नेता डा सङ्ग्रौलाले प्रदेश सरकारको औचित्यका बारेमा पनि नागरिकस्तरबाट कुरा उठ्न थालेको बताइन् ।नेपाली जनताका चाहनालाई पूरा गर्न ठूला राजनीतिक दलले संविधान संशोधन गरेर भए पनि अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । संविधान संशोधन गरेर भए पनि जनतालाई सुशासन दिने काममा कांग्रेस जुटेको उनले बताए ।नेता डा सङ्ग्रौलाले यस क्षेत्रका कांग्रेसका विभिन्न पेसागत सङ्गठनका प्रतिनिधिहरुको उपस्थितिमा संविधान संशोधनसम्बन्धी दुई कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यपत्रमाथि छलफल हुने जानकारी दिइन् ।