काठमाडौ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलमाथि गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू गरेको आरोप लागेको छ।
सोमबार उनीविरुद्ध फौजदारी मुद्दा दायर गरिने तयारी गरिएको छ। युनले डिसेम्बर ३ मा राजनीतिक गतिविधि र मिडियामा सेन्सरसिप लागू गर्न आदेश दिएपछि देशमा सैन्य शासनको प्रयास गरेका थिए। विपक्षी सांसदहरूको मतदानपछि यो आदेश केवल ६ घण्टा मात्र लागू भएको थियो।
यस प्रयासको प्रतिक्रिया स्वरूप, दक्षिण कोरियाली संसद (नेशनल एसेम्ब्ली) ले युनको महाभियोग प्रक्रिया अघि बढाएको थियो। महाभियोगको प्रस्ताव दर्ता भएपछि युन निलम्बनमा परेका थिए, र संवैधानिक अदालतले अप्रिल ४ मा उनलाई राष्ट्रपतिको पदबाट पूर्ण रूपमा हटाउने आदेश जारी गरेको थियो।यद्यपि युनले आफ्नो राष्ट्रपतिको विशेषाधिकार गुमाइसकेका छन्, तर विद्रोहको आरोपमा उनीविरुद्ध सोमबार आपराधिक मुद्दा दायर गरिने तयारी भइरहेको छ।
फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा युनका वकिलहरूले हिरासत प्रक्रियामा त्रुटि भएको जिकिर गरेका थिए, र अदालतले यो तर्कलाई स्वीकार्दै उनी ५२ दिनको हिरासत पछि रिहा भएका थिए। जनवरीमा उनी प्रहरी र अभियोजनकर्ताविरुद्ध आवाज उठाएपछि पक्राउ परेका थिए, र राष्ट्रपति रहेकै बेला पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका थिए।यदि दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय पनि हुनसक्छ।
शुक्रबार ६४ वर्षीय युनले राष्ट्रपति निवास खाली गर्दै सियोलस्थित आफ्नो निजी निवासमा पुगेर आफ्ना समर्थकलाई धन्यवाद दिएका थिए। “अब, म गणतन्त्र कोरियाको एक साधारण नागरिकको रूपमा फर्कन्छु, र म हाम्रो देश र जनताको सेवामा नयाँ बाटो खोज्नेछु,” उनले सामाजिक सञ्जालमार्फत एक विज्ञप्तिमा भनेका छन्। युनको हटाइपछि दक्षिण कोरियामा आगामी जुन ३ मा मध्यावधि चुनाव हुँदैछ, जसमा नयाँ राष्ट्रपति चयन हुनेछ। यस अवधिमा देशको नेतृत्व कार्यवाहक राष्ट्रपति हान डक–सोले सम्हाल्नेछन्।