काठमाडौ। कालीकोटको पलाँता गाउँपालिका-९ स्थित थीर्पुबाट पलाँता-४ छलतर्फ खाद्यान्न र खुद्रा सामान लिएर जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ। उक्त दुर्घटना राति पाल्पा-२ बुडाडाँडा नजिक घटित भएको हो। प्रहरी कार्यालय कालीकोटका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
मृत्यु हुने चार जनामा २५ वर्षीय चन्द्रप्रकाश रोकाय (मुगु, खत्याड गाउँपालिका-५, कावा), २१ वर्षीय रविन्द्र विक (कालीकोट, पलाँता गाउँपालिका-४), ३२ वर्षीय सदु बुढा (कालीकोट, पलाँता-४) र २५/२६ वर्षीय अम्बा शाही (पलाँता-५, सल्लीकोट) रहेका छन्। घटनास्थलमा नै उनीहरूको मृत्यु भएको थियो।
प्रहरी कार्यालयका प्रमुख टेकबहादुर रावतका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर सडकको तलको अप्ठेरो भिरमा अड्किएको छ। शवहरू करिब २०० मिटर तल भेटिएका थिए।घटनाको जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुग्यो। तर, अप्ठेरो भिरका कारण ट्याक्टरसम्म पुग्न नसकेकाले दुर्घटनाग्रस्त ट्याक्टरको नम्बर भने खुल्न सकेको छैन।