प्रचण्डको ब्रिफिङ : प्रतिगामी शक्तिलाई पराजित गरियो, शिक्षक र कर्मचारीको पक्षमा संसदमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय हासिल गरिएको दाबी गरेका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका थिए।

उनले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसद् जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण दुवै सदनमा प्रधानमन्त्रीलाई उपस्थित गराउन सफल भएको बताए। “यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको जीत हो,” प्रचण्डले भने।पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगमनविरुद्धको अभियानमा जनसमर्थन व्यापक देखिएको बताउँदै उनले हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजना गरिएको जनप्रदर्शन सफल भएको बताए।काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उचो बनाएको उनको भनाइ थियो।

त्यसैगरी, ‘तराई-मधेश जागरण अभियान’ मार्फत माओवादीप्रति जनविश्वास पुनः स्थापित भइरहेको र जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको जानकारी पनि उनले दिए।शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको भन्दै प्रचण्डले सरकार समस्याको समाधानभन्दा उल्टै जटिलता बढाउने दिशामा गइरहेको आरोप लगाए। प्रधानमन्त्रीले शिक्षक आन्दोलनसँग जोडेर आफूविरुद्ध टिप्पणी गर्नु दुर्भाग्यपूर्ण भएको पनि उनले बताए।संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयक माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि संसदमा पेश गरेको भन्दै, प्रचण्डले ती विधेयक पारित गराउन सांसदहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरे।शिक्षामन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता कमजोर हुँदै गएको भन्दै, उनले संसदबाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार बन्न निर्देशन दिएका छन्।