काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिने उद्योगको विकासका लागि गोरखाको पालुङटारमा सिने सिटी बनाउने आफ्नो चाहना रहे पनि कलाकारहरूलाई बुझाउन नसकेको बताएका छन्।
काभ्रेको बनेपामा निर्माण सुरु गरिएको चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) को आरम्भ उद्घोष समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पालुङटारको भूगोल सिने सिटीका लागि उपयुक्त रहे पनि प्रस्ताव कार्यान्वयन हुन नसकेको बताए।
“पालुङटार अत्यन्तै राम्रो स्थान हो। इनडोर–आउटडोर सबै खालका छायाङ्कन त्यहीँ गर्न सकिन्थ्यो,” ओलीले भने, “तर कलाकारहरूलाई मैले त्यो कुरा बुझाउन सकिनँ।
“उनले अहिले बनेपामा सुरु भएको स्टुडियोलाई सफल बनाउन आवश्यक रहेको बताए। “जहाँ बनाइयो, राम्रोसंग बनाऔँ,” उनले भने, “सिने जगतका लागि यो नयाँ युगको सुरुआत हो।”ओलीले धुर्मुस–सुन्तलीले सुरु गरेको क्रिकेट मैदानको उदाहरण दिँदै निरन्तरता दिइएको काम सफल हुने विश्वास व्यक्त गरे।