
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेर महसुल नतिर्ने उद्योगीहरूलाई प्रशासकीय पुनरावेदन गर्न फेरि सूचना जारी गरेको छ।
मंगलबार जारी सूचनामा प्राधिकरणले उद्योगीहरूलाई जेठ मसान्तसम्म पुनरावेदनको समय दिइएको जनाएको छ। सञ्चालक समितिको वैशाख २१ गतेको निर्णय अनुसार यो म्याद तोकिएको हो। यसअघि प्राधिकरणले वैशाख २६ गते पनि यसबारे सूचना निकालेको थियो।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरी विद्युत उपयोग गरेर महसुल नतिरेका ग्राहकहरूलाई विद्युत वितरण विनियमावली, २०७८ को विनियम ५५ बमोजिम पुनरावेदनको प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।
सूचनामा भनिएको छ, “बक्यौता रकमको ५ प्रतिशत वा सो बराबरको एक वर्ष म्यादको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटीका रूपमा बुझाई २०८२ जेठ मसान्तसम्म प्रशासकीय पुनरावेदन गर्न सकिने व्यवस्था गरिएको छ।”साथै, प्राधिकरणले २०७५ वैशाखदेखि २०७८ असार मसान्तसम्मको विद्युत महसुलको बक्यौता भुक्तानी गर्ने वा सो बराबरको बैंक ग्यारेन्टी पेश गर्ने ग्राहकलाई पाँच प्रतिशत छुट दिने सुविधा पनि दिएको छ।