त्रिविमा नयाँ उपकुलपतिका लागि समिति गठन, मेरिटका आधारमा सिफारिसको तयारी

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिविको रिक्त उपकुलपति पदमा योग्य उम्मेदवार छनौट गर्न तीन सदस्यीय सर्च कमिटी गठन गरेका छन्। जेठ ६ गते प्रधानमन्त्री कार्यालयद्वारा गठित समितिको अध्यक्षता शिक्षा मन्त्री तथा सहकुलपति रघुजी पन्तले गर्दैछन्। समितिमा राष्ट्रिय योजना आयोगकी शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले सदस्य छन्।

पूर्व उपकुलपति डा. केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको पदमा मेरिटका आधारमा उपकुलपति सिफारिस गर्नुपर्ने दबाब बढेपछि सर्च कमिटी बनाइएको हो। हाल रेक्टर प्रा.डा. खड्ग केसीले उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्। नयाँ नेतृत्व मेरिटका आधारमा चयन हुने अपेक्षा गरिएको छ।