काठमाडौँको सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौँ महानगरपालिका–१६ स्थित सोह्रखुट्टेको सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ। ग्याँस लिक भएका कारण लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागीले क्यान्टिनभित्रका सामग्री जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौँबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपानेको नेतृत्वमा र काठमाडौँ महानगरपालिकाको न्यूरोडस्थित वारुणयन्त्र कार्यालयबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा टोली परिचालित गरिएको थियो।

आगो बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।