डेपुटी गभर्नरहरूको जिम्मेवारी पुनः बाँडफाँट गरे गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेसँगै डेपुटी गभर्नरहरूको कार्य विभाजन गरिएको छ।

पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएपछि वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई केही समयका लागि कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको थियो। गभर्नरमा डा. पौडेल नियुक्त भएसँगै उनी पुनः आफ्नो नियमित भूमिकामा फर्किएकी छन्।

अब डा. ढुंगानाले बैंक तथा वित्तीय संस्था नियमन, गैरबैंकिङ सुपरिवेक्षण, लघुवित्त सुपरिवेक्षण, विदेशी विनिमय व्यवस्थापन, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थापन, सम्पत्ति तथा सेवा व्यवस्थापन, सूचना प्रविधि विभाग र प्रदेश कार्यालयहरूको जिम्मेवारी सम्हाल्नेछिन्।

त्यस्तै, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई बैंक सुपरिवेक्षण, वित्तीय संस्था सुपरिवेक्षण, आर्थिक अनुसन्धान, मौद्रिक व्यवस्थापन, भुक्तानी प्रणाली, बैंकिङ, मानव संसाधन व्यवस्थापन, र वित्त व्यवस्थापन विभागको जिम्मा दिइएको छ। गभर्नरको कार्यालय भने गभर्नर स्वयंकै प्रत्यक्ष सञ्चालनमा रहने व्यवस्था गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।