काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि संविधान संशोधन र गणतन्त्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रद्वारा आयोजित ‘वर्तमान राजनीतिक समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक न्याय, विभेदको अन्त्य र समुन्नत समाज निर्माणका लागि संविधान संशोधन आवश्यक रहेको बताए।
उनले संविधानको रक्षा गर्दै सर्वसुलभ सेवा दिने प्रभावकारी कानुन निर्माण, समावेशी प्रतिनिधित्व, निर्वाचन प्रणालीमा सुधार, संघीयता र न्यायालयको पुनर्संरचना आवश्यक रहेको उल्लेख गरे।
‘राष्ट्रियता जोगाउन आर्थिक सुदृढीकरण, सन्तुलित कुटनीति र परराष्ट्र तथा सुरक्षा नीतिको विकास आवश्यक छ’, शर्माले भने।
शर्माले सामाजिक न्यायका लागि जातीय, भाषिक, लैङ्गिक र भौगोलिक विभेद अन्त्य गर्नुपर्ने, रोजगारी सिर्जना, गरिबी निवारण, उत्पादनमुखी अर्थतन्त्र र स्थानीयस्तरमै श्रम–सीपमा आधारित कार्यक्रम आवश्यक रहेकोमा जोड दिए।
स्वास्थ्य, शिक्षा, पूर्वाधार, यातायात र सामुदायिक विकासमा सरकारको लगानी वृद्धि गर्नुपर्ने र आर्थिक पुनर्संरचनामार्फत जनचेतना अभिवृद्धि गर्नुपर्ने उनको भनाइ थियो।