
काठमाडौं । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा पुगेपछि, उनको नियुक्ति र गृहमन्त्री रमेश लेखकबीचको सम्बन्धबारे प्रश्न उठेका छन् ।
भट्टराईलाई गत मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो । गृहमन्त्री लेखकले तत्कालीन अध्यागमन कार्यालय प्रमुख (सहसचिव) सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए ।
उनी मन्त्रालयमा सरुवा भएर आउनेबित्तिकै अख्तियारकाे नियन्त्रणमा पुगेका थिए । अख्तियारले केही साताअघिबाटै विमानस्थलकाे अध्यागमनमा भिजिट भिसाको नाममा हुने मानव तस्करी, कागजात किर्ते र अवैध लेनदेनबारे अनुसन्धान गरिरहेको थियाे । अख्तियारले छापा हान्ने तयारी गरेको जानकारी पछि भट्टराईलाई जोगाउनका लागि अध्यागमनबाट हतार–हतार मन्त्रालयमा तानिएकाे भन्नेचाहीँ मिथ्या भएकाे गृहमन्त्री सचिवालय स्राेतले बताएकाे छ । विवादित छविका भट्टराईलाई अख्तियारकाे छापाबारे जानकारी पश्चात् मन्त्रालय बाेलाइएको हाे । तर अहिले बाहिर आएजस्ताे भट्टराईलाई जाेगाउनका लागि मन्त्रालयमा बोलाइएकाे भन्नेचाहीँ गलत हाे ।
‘विमानस्थलकाे अद्यागमनमा भएकाे अनियमितता थाहा पाएपछि कारबाहीकै लागि मन्त्रालयमा बाेलाइएकाे थियाे । तर त्यसमा अख्तियार पसिहाल्याे । अहिले जसरी गृहमन्त्रीकाे संलग्नता भनिएकाे छ त्याे सरासर गलत हाे’ स्रोतले भन्याे ।
मंगलबार भट्टराई ‘भिजिट भिसा’ प्रकरणमा संलग्नरहेकाे पाइएपछि गृहमन्त्रालयले बुधबार र बिहीबार विवादस्पद छविमा रहेका र भिजिट भिसामा सेटिङ मिलाएर तस्करी गरेकाे आरोप लागेका १५ जना कर्मचारीलाई सरुवा गरेकाे छ ।