तीनकुने प्रकरणमा अनुसन्धान टुंगियो, आइतबार अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं।  तीनकुने घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको छ। कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले प्रतिवेदन प्राप्त भएको र त्यसका आधारमा अभियोग पत्रको तयारी भइरहेको जानकारी दिए।

उनले भने, “प्रतिवेदन आएको छ, त्यसअनुसार अभियोग पत्र तयार पार्दैछौं। आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।”पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंलाई हत्या अभियोगमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ। एक अनुसन्धान अधिकारीका अनुसार, दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने सिफारिससहित प्रतिवेदन बुझाइएको हो।

२०८१ साल चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को ब्यानरमा काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो। दुर्गा प्रसाईंले बागमती प्रदेश–०२७ च ३८४७ नम्बरको गाडी हुइँक्याउँदै प्रहरी घेरा तोडेपछि प्रदर्शन हिंसात्मक बनेको थियो। प्रहरीले मञ्चमा अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरू आक्रोशित हुँदै तोडफोड र आगजनीमा उत्रिएका थिए।

प्रदर्शनको क्रममा भएको आगजनीमा सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। सोही घटनामा पत्रकार सुरेश रजकको ज्यान गएको थियो। आगजनीमा संलग्न रहेको आरोपमा रामेछापका सरोज गौतम र अछामका गोकर्ण शाही उर्फ अनुप विक्रम ठकुरीलाई पनि हत्या अभियोगमा मुद्दा चलाउनुपर्ने सुझाव प्रहरीले दिएको छ।

घटनासँग सम्बन्धित १८६ जनालाई प्रहरीले पक्राउ गरेकोमा ९६ जनालाई प्रारम्भमै रिहा गरिएको काठमाडौँ प्रहरी परिसरका एसपी अपिल बोहराले जानकारी दिए। बाँकीमध्य २६ जनालाई राज्यविरुद्धको कसुरमा, २७ जनालाई आपराधिक उपद्रवको अभियोगमा म्याद थप गर्दै हिरासतमा राखिएको छ। अनुसन्धानका क्रममा ३७ जनालाई हाजिर जमानीमा रिहा गरिएको छ।

यसैबीच, राज्यविरुद्धको कसुरमा अनुसन्धान भएका तीन जना अनुसन्धानकै क्रममा रिहा भएका छन्। सोही अभियोगमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतको आदेशले रिहा गरिएको थियो। राप्रपाका महामन्त्री धवल शमशेर जबरा उपचार गराउने सर्तमा रिहा भएका थिए भने खेमराज सेढाईंलाई वैशाख २५ मा प्रहरीले रिहा गरेको हो। आपराधिक उपद्रवको अभियोगमा अनुसन्धानमा परेका ३४ जनालाई प्रहरीले हाजिर जमानीमा छोडेको एसपी बोहराले बताए।