काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूका विषयमा सरकारले झुक्याउने प्रयास गर्नु नहुने चेतावनी दिएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूसँग भएको सहमति समावेश गर्नुपर्ने बताएका हुन्।
पौडेलले शिक्षकहरूसँग सरकारले ९ बुँदे सहमति गरेको स्मरण गराउँदै त्यसलाई विधेयकमा नसमेटिएकोप्रति आपत्ति जनाए। “सहमति गरेर विधेयकमा अर्कै कुरा राख्ने, हुनै नसक्ने प्रावधान थप्ने—यसो गरेर शिक्षकजस्तो बुद्धिजीवी वर्गलाई झुक्याउनु हुँदैन,” उनले भने।
शिक्षकको बढुवा प्रणालीलाई ‘चन्द्रमामा घडेरी किनेर घर बनाउने’ सरह बनाइएको भन्दै पौडेलले व्यङ्ग्य गरे। “बढुवाको प्रक्रिया यति जटिल बनाइएको छ कि व्यवहारमा लागू हुनै सक्दैन,” उनले स्पष्ट पारे।
निजी विद्यालयसम्बन्धी धारणा राख्दै पौडेलले संविधानले निःशुल्क र अनिवार्य शिक्षाको ग्यारेन्टी गरेकाले निश्चित समयसीमा तोकेर निजी विद्यालयलाई शैक्षिक गुठीमा रूपान्तरण गर्नुपर्ने सुझाव दिए। उनले कार्यकारी निकाय र संसदीय समितिबीच शिक्षक महासंघसँग भएको सहमति समितिमा औपचारिक रूपमा पेश गर्नुपर्ने माग पनि गरेका छन्।