गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी निकट विद्यार्थी संगठनको प्रदर्शन, तत्काल पक्राउको माग

काठमाडौं।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

संयुक्त रूपमा प्रदर्शनमा उत्रिएका विद्यार्थी संगठनहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भएको भनिएको अनियमितता र घुस प्रकरणमा उनको प्रत्यक्ष संलग्नताको आरोप लगाएका हुन्।

प्रदर्शनकारीहरूका अनुसार अध्यागमन कार्यालयमार्फत भिजिट भिसामा खाडी र युरोपियन मुलुकतर्फ जाने नेपालीहरूमाथि गरिएको अवैध शोषण र घुस लिने काममा गृहमन्त्रीको भूमिकाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान भइसकेको दाबी गरिएको छ।

आयोगले विमानस्थलमा छापा मार्दा नियन्त्रणमा लिएका सहसचिव तीर्थराज भट्टराईले मन्त्री लेखकलाई नै दैनिक ५० लाख रुपैयाँ बुझाइने गरेको बताएका खबर सार्वजनिक भएपछि विरोध चर्किएको हो।

विद्यार्थी संगठनहरूले यस्तो कार्यलाई मानव बेचबिखन र देशद्रोहको रुपमा व्याख्या गर्दै, गृहमन्त्री लेखकसहित संलग्न सबैलाई तत्काल बर्खास्त गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले प्रधानमन्त्री तथा सरकारमाथि दोषीहरूलाई संरक्षण गरेको आरोप लगाउँदै, अख्तियारको प्रयोग सरकारकै स्वार्थमा भएको भन्दै आपत्ति जनाएका छन्।